सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

उपराष्ट्रपति परमानन्द झाद्वारा "नेपाली" भाषामै जारी गरिएको अपिल

देश तथा विदेशमा समेत उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधले उग्र रुप लिन थालेपछि झाले मंगलबार एक अपील जारी गरेका छन् । उपराष्ट्रपति झाद्वारा जारी अपिलमा राष्ट्र, राष्ट्रियता, सार्बभोमिकता र अखण्डतामा आघात पुरयाउने आफ्नो मनशाय नरहेको उल्लेख छ साथै नेपाली लगायत सबै मातृभाषाप्रति आफ्नो सम्मान रहेको उक्त अपिलमा जनाइको छ ।
उपराष्ट्रपति झाले आफ्नो अपीलमा प्रत्येक नेपालीको पहिचान र आस्थाप्रति उच्च सम्मान गर्दै राष्ट्र भाषा नेपालीलगायत सम्पूर्ण राष्ट्रिय भाषाहरूलाई आफूले समान रूपले सम्मान गर्ने बताएका छन् । उपराष्ट्रपति झाले आफुले हिन्दी भाषामा सपथ लिदा जनतालाई चोट परेकोमा दुख ब्यक्त गरेका छन ।

उपराष्ट्रपति परमानन्द झाद्वारा "नेपाली" भाषामै जारी गरिएको अपिलको पूर्ण पाठ:

हामी सबै मिलेर गरेको कठिन एवं लामो सङ्घर्षले गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा सम्पूर्ण देशवासीहरुलाई सह्रदय अभिवादन गर्न चाहन्छु। देशलाई यस अवस्थामा ल्याउनमा सबै राजनैतिक दलहरुको सुझबुझ, समस्त देशवासीहरुको अनवरत योगदान, उत्कट आकाङ्क्षा र ज्ञात अज्ञात सहिदहरुको बलिदान नै प्रमुख कारक रुपमा रहेका छन्। देशका लागि प्राणको आहुति दिने सबै ज्ञात अज्ञात सहिदहरुलाई हार्दिक नमन गर्दै श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् बहुजतीय विविधायुक्त सबैको साझा फूलबारी हो। हाम्रो राष्ट्रिय एकताको सुदृढीकरण सबै धर्म, भेष-भुषा, बोली-भाषा, संस्कृतिको पहिचान र त्यसको सम्मान, संरक्षण र विकासमा अन्तर्निहित रहेको छ। राष्ट्रिय एकताको संरक्षणका लागि सम्पूर्ण नेपालीको बोली-भाषा, भेष-भुषा, धर्म, संस्कृति, आत्मसम्मान र स्वाभिमानको प्रत्याभूति गर्दै, सबैमा समानताको अनुभूति दिलाएर सन्तोषपूर्ण वातावरण बनाउनु हामी सबैको दायित्व हो।
गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपतिका रुपमा शपथ लिँदा मैले प्रयोग गरेको भाषालाई लिएर केही दिनयता प्रकट भइरहेको भावनाप्रति मेरो ध्यानाकर्षण भएको छ। मैले उपराष्ट्रपतिको गरिमामय पदको शपथ लिँदा सरकारी कामकाजमा प्रयुक्त हुने नेपाली भाषामा लेखिएको पद र गोपनीयताको शपथपत्रमा हस्ताक्षर गरेको छु। हिन्दी भाषा नेपालको मधेस क्षेत्रका अनेक भाषीहरु बीचको सम्पर्क भाषा हो र, मातृभाषा मध्येको एक हो। वर्तमान परिवेशमा नेपालमा हिन्दी भाषा विभिन्न समुदायले पनि बुझ्ने भाषा भएकाले मैले सबै समुदायले शपथको अर्थ र मर्म सहजताका साथ बुझुन् भन्ने अभिप्रायले हिन्दी भाषा प्रयोग गरेको हुँ। राष्ट्र, राष्ट्रियता, सार्वभौम अखण्डतामाथि कुनै आघात पुर्‍याउने मेरो अभिप्राय थिएन र रहने पनि छैन भन्ने कुरा सम्पूर्ण देशवासीलाई आश्वास्त गराउन चाहन्छु।
शपथको वाचिका भाषालाई लिएर केही दाजुभाइ, दिदीबहिनीहरुको मनमा चोट पुगेको र त्यसप्रति असन्तोष र विरोध भइरहेको देखिँदा मलाई दुःख लागेको छ।प्रत्येक नेपालीको पहिचान र आस्थाप्रति उच्च सम्मान प्रकट गर्दै म राष्ट्र भाषा नेपालीलगायत सम्पूर्ण राष्ट्रिय भाषाहरुलाई पनि समान रुपले सम्मान गर्दछु।सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको बीचमा एकअर्काको पहिचानलाई लिएर हुने अप्रिय वादविवादले सामाजिक सहिष्णुता र कायम रहेको सदभावलाई खलल पारी राष्ट्रिय एकता र अखण्डतालाई प्रहार गर्न चाहने साम्प्रदायिक तत्वहरुलाई मात्र फाइदा पुग्दछ।
मेरो अभिव्यक्तिबाट राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र सबै नागरिकको सम्मानमा कुनै पनि प्रकारको प्रतिकूल प्रभाव पार्ने मेरो मनसाय होइन, कसैमा त्यस्तो आभास पर्न गएको भए म दुःख प्रकट गर्दछु। साथै मेरो ध्यान सदैव नेपाल र नेपाली जनताको हकहित, सम्मान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहनेछ भनी आम नेपालीमा पूर्णतः विश्वास दिलाउन चाहन्छु। सम्पूर्ण नेपाली जनताबीचको आपसी सदभाव र एकताले राष्ट्रिय एकता र सार्वभौमिकता सुदृढ हुँदै जाने हुनाले सबै देशवासीमा आत्मसंयम र आपसी सदभाव कायम गर्न हार्दिक अपिल गर्दछु। साथै असन्तोष र विरोध प्रकट गरिरहेका सबै नागरिकहरुको भावनालाई म हार्दिक सम्मान गर्दछु। साथै राष्ट्रमा कुनै द्वैषपूर्ण भावना भड्काउने खतरातर्फ सचेत हुन पनि म सबै नेपालीमा हार्दिक आग्रह गर्दछु। अन्तमा, सम्पूर्ण नेपाली र नेपालको समृद्धि एवम् समुन्नतिका लागि सबैले हातेमालो गरी आपसी एकता एवम् सद्भावलाई कायम राख्दै अगाडि बढौँ; म पुनः अपिल गर्दछु।
जय नेपाल !

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु